
१६ बैशाख, काठमाडौं । आज बसेको संसद बैठकमा सांसदहरूले २८ दिनदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूका मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले सरकार शिक्षकहरूको आन्दोलनप्रति रमिते बनेको आरोप लगाए।
बैठकको सुरुमै प्रतिपक्षी दलका सांसदहरू आ–आफ्नो ठाउँबाट उठेका थिए। सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए। पाण्डेले शिक्षक र चिकित्सकका आन्दोलनका सम्बन्धमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न माग गरे।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरू सबै दलका भएको भन्दै उनीहरूका माग सम्बोधन गरी तुरुन्तै विद्यालयमा पठाउन माग गरे। उनले नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तलाई जवाफ दिन पनि माग गरे। शिक्षकहरूका माग सम्बोधन गर्दा राज्यलाई पर्ने आर्थिक भारको विश्लेषण गर्नसक्ने राष्ट्र बैंकमा गभर्नर पद रिक्त भएको भन्दै उनले तत्काल गभर्नर नियुक्तिको माग गरे।
माओवादी केन्द्रकी सांसद रेखा शर्माले विषयको गाम्भिर्यता हेरी शिक्षकहरूका माग सम्बोधन गर्न माग गरिन्। सरकारले परिस्थिति सम्हाल्नुको साटो झन् भड्काउने काम गरेको बताउँदै उनले समस्या समाधान गर्न सरकारलाई छिटोभन्दा छिटो अग्रसर बन्न आग्रह गरिन्।
माओवादीकै अर्का सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागे। शिक्षक र चिकित्सक आन्दोलनमा रहेको र कर्मचारीहरू पनि आन्दोलनमा जाने तयारीमा रहेको भन्दै उनले सरकारले उनीहरूका कुरा नसुनेको आरोप लगाए। त्यसैले प्रधानमन्त्रीले पदमा रहीरहने नैतिकता गुमाएको उनको भनाइ थियो।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र अर्का सांसद ठाकुर गैरेले शिक्षकहरूसँग सरकार र सरकारमा भएका नेताहरूबीच निरन्तर वार्ता भइरहेको भन्दै समस्या समाधान हुने विश्वास व्यक्त गरे।
रास्वपाका सांसद मनिष झाले सरकारले राप्रपाका वरिष्ठ नेता रविन्द्र मिश्रलाई हतकडी लगाएर थुनामा राखेको भन्दै विरोध जनाए। उनले सुशासनको कुरा गर्ने सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण किन सार्वजनिक नगरेको भनेर प्रश्न गरे।
राप्रपाकी सांसद रोशन कार्कीले सरकारले आन्दोलनमा उठेका माग नसुनेको भन्दै आलोचना गरिन्। सहकारी पीडित महिलाहरूले सोमबार अर्धनग्न प्रदर्शन गरेको भन्दै उनले त्यसरी महिलाहरूलाई प्रदर्शन गर्न बाध्य नपार्न सरकारको ध्यानाकर्षण गराइन्।