
१६ वैशाख, काठमाडौं । लामो समयदेखि छलफलमा रहेको भन्सार विधेयक अन्ततः प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको यो महत्वपूर्ण विधेयकले भन्सार प्रशासनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
विधेयकको पक्षमा व्यापक सहमति जुटेपछि यसको कार्यान्वयनको बाटो खुलेको छ। अघिल्लो सरकारका अर्थमन्त्री डा. प्रकाश शरण महतले २०८० असोज १८ गते दर्ता गरेको यो विधेयक विभिन्न चरण पार गर्दै अन्ततः पारित भएको हो।
अब यो विधेयक राष्ट्रिय सभामा जाने प्रक्रिया सुरु हुनेछ। राष्ट्रिय सभाबाट पनि सहज रूपमा पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यसले कानूनी मान्यता पाउनेछ। यो विधेयक कार्यान्वयनमा आएसँगै भन्सार क्षेत्रमा सुधार आउने र राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।