
१६ वैशाख,वीरगञ्ज । भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले बाराका भूमिहीन, सुकुम्बासी र यससँग सम्बन्धित सरोकारवालाहरूसँग छलफल गरेका छन्।
आयोगका केन्द्रीय सदस्यहरू अनिल प्रसाई र आरती भण्डारीसहित बारा आएका अध्यक्ष रिजालले जिल्ला प्रशासन कार्यालय, कलैयामा आयोजित बैठकमा भूमिहीन तथा सुकुम्बासीलाई जग्गा वितरणको विषयमा छलफल गरेका हुन्।
बैठकमा अध्यक्ष रिजालले जग्गा प्राप्तिका लागि निर्धारित समयमै कानूनी प्रक्रिया अघि बढाउन जोड दिए। उनले भने, “जग्गा प्राप्त गर्न कानूनी प्रक्रिया मिलाउने यो अन्तिम समय हो। तोकिएको समयमा प्रक्रिया सुरु नगरेमा पछि कुनै पनि हालतमा जग्गा प्राप्त गर्न सकिँदैन।“
अध्यक्ष रिजालले सबै प्रक्रिया पूरा गरी फारम भरेका भूमिहीन तथा सुकुम्बासीहरूले करिब डेढ बिघासम्म जग्गा प्राप्त गर्न सक्ने जानकारी दिएको बैठकमा सहभागी नेपाली कांग्रेस क्षेत्र नम्बर ४(ख) का क्षेत्रीय सभापति लोकेश सिंहले बताए।
नेता सिंहका अनुसार, निर्धारित समयमा कानूनी प्रक्रिया नपु¥याएका र जग्गा जोतभोग गरिरहेकाहरूको जग्गा पनि सरकारले पछि खोस्न सक्नेछ।
बैठकमा पूर्वमन्त्री एवं भूमि समस्या समाधान आयोगका बारा सदस्य कलावती पासवान, युवा नेता दिपेन्द्र पटेललगायतको उपस्थिति थियो।