Logo

१६ बैशाख, वीरगञ्ज । बाराको फेटा गाउँपालिका वडा नम्बर–१ भलुही चोकदेखि भर्वलिया हुँदै नहरसम्म निर्माणाधीन सडक गुणस्तरहीन र मनोमानी ढंगले भइरहेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्। मधेश प्रदेश सरकारको बजेटमा निर्माणाधीन यो सडक पाँच वर्षअघि नै सम्पन्न हुनुपर्ने भए पनि निर्माणमा भएको अत्यधिक ढिलाइका कारण स्थानीयले हाल भइरहेको निर्माण प्रक्रियाप्रति गम्भीर प्रश्न उठाएका हुन्।

स्थानीय बासिन्दा तथा ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक विरेन्द्र प्रसाद साहले सडक निर्माण गर्दा पानीको निकासको उचित व्यवस्थापन नगरिएको बताएका छन्। उनले विगतदेखि पानी कसरी निकास हुँदै आएको थियो भन्ने यकिन नगरी, रेखाङ्कन नगरी र त्यसको व्यवस्थापन बिना नै काम अघि बढाइएको आरोप लगाए। कालोपत्रे गर्ने तयारी भइरहेको उक्त सडकको नाप, नक्शा र रेखाङ्कन विधि र पद्धतिसंगत नगरिएको उनको दाबी छ।

केही व्यक्तिको लहडमा सार्वजनिक र निजी जग्गा नछुट्याई मनोमानी ढंगले काम हुँदा थोरै पानी पर्दा पनि सडकमा डुबान हुने गरेको स्थानीयको भनाइ छ। करिब ३०/४० मिटर उत्तरतर्फ बर्षौदेखि रहेको काठको नाली पुरिएको छ। ५० औँ वर्षदेखि पानी निकासका लागि प्रयोग भइरहेको सामान्य कुरामा पनि प्राविधिक कर्मचारीको ध्यान नपुगेकोमा स्थानीयले आश्चर्य व्यक्त गरेका छन्।

प्राध्यापक साहले आफ्नो निजी जग्गा मिचिएपछि जिल्ला पूर्वाधार कार्यालय बारा, कलैयामा निवेदन दिए पनि कुनै कारबाही नभएको गुनासो पोखेका छन्। पानीको निकास थुनेर बनाइएको सडक दिर्घकालिन नहुने र यसै वर्षको वर्षाले बगाउने उनले चिन्ता व्यक्त गरे। स्थानीय बासिन्दाले निर्माणपछि पछुताउनुभन्दा अहिले नै नाप, नक्शा र रेखाङ्कन गरी गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न मधेश प्रदेश सरकार र सम्बन्धित निकायलाई हार्दिक अपिल गरेका छन्।

यता, पूर्वाधार विकास कार्यालय बाराकी इञ्जिनियर आरती चौधरीले नाप नक्सा नगरी मिचिएको जग्गामा सडक नबनाएको दावी गरेकी छन्। उनले स्थानीय जनप्रतिनिधिको रोहबरमै सडकको जग्गा नाप नक्सा गरेर निर्माण गरिएको जिकिर गर्दै यस विषयमा स्थानीयले अनावश्यक विवाद गर्न खोजेको आरोप लगाइन्।

प्रदेश सरकारको बजेटमा निर्माण हुन लागेको चार किलोमिटर सडकमा नाला नबनाइएको उनले स्वीकार गरिन्। नाला ननिकाली सडक बनाउँदा पछि फेरी नाला खन्ने समयमा सडक भत्किन सक्ने जोखिम रहेको छ। यस विषयमा इञ्जिनियर चौधरीले प्रदेश सरकारबाट आएको बजेटको सीमा र परिभाषित क्षेत्र बाहेक अन्य कुनै शीर्षकमा बजेट नरहेको बताइन्।

यसरी प्रदेश सरकारले सडक र नाला सँगसँगै निर्माण नगर्दा राज्यको दोहोरो आर्थिक भार व्यय हुने देखिएको छ। स्थानीयवासीले समयमै सम्बन्धित निकायले ध्यान नदिए थप आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। पाँच वर्षदेखि अलपत्र परेको सडकको गुणस्तरहीन निर्माणले स्थानीयमा निराशा छाएको छ भने प्रदेश सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठेको छ।


सम्बन्धित समाचार