
१७ कञ्चनपुर, वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका सहिद परिवारप्रति विशेष सम्मान प्रकट गर्दै कञ्चनपुरमा दुई दिन बिताएका छन् । उनले मंगलबार साँझ पुनर्वास नगरपालिका–२, मोतिबस्तीस्थित जनयुद्धमा श्रीमान् र कान्छो छोरा गुमाएकी खिमा शर्माको घरमा बास बसेका थिए ।
सहिद शर्मासँगै रात बिताउनुले अध्यक्ष प्रचण्डले सहिद परिवारलाई पार्टीले उच्च महत्व दिएको सन्देश दिन खोजेको देखिन्छ। खिमा शर्मा अहिले आफ्नो जेठो छोरासँग बस्दै आएका छन् । पुनर्वास क्षेत्र जनयुद्धका क्रममा १५ जना सहिद गुमाएको ठाउँ हो।
यसैबीच, अध्यक्ष प्रचण्डले पुनर्वास नगरपालिकामा आयोजित सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रममा जनयुद्धका योद्धाहरूको परिवारलाई सम्मान गरे । कार्यक्रममा बोल्दै उनले सहिदहरूको योगदानलाई युगौंसम्म स्मरण गरिने प्रतिबद्धता व्यक्त गरे ।
सोही कार्यक्रममा नेपाल परिवार दल परित्याग गरी विष्णु कुमारी लामिछाने बिके माओवादी केन्द्रमा प्रवेश गरेकी थिईन् । उनलाई अध्यक्ष प्रचण्डले स्वागत गरे ।
बेलौरी नगर कमिटीद्वारा आयोजित अर्को भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले पुनर्वास नगरपालिका–५ स्थित शोभा ताल प्राङ्गणमा ३८ जना सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरे । सहिद परिवारसँग आत्मीय संवाद गर्दै उनले जनयुद्धको योगदान, सहिदहरूको बलिदान र न्याय, सम्मान तथा समानताको मार्गमा पार्टी प्रतिबद्ध रहने बताए ।
यसअघि अध्यक्ष प्रचण्डले बेलौरी बजारस्थित राष्ट्रपेमी किसान नेता तथा महान सहिद भिमदत्त पन्तको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए । सालिकमा माल्यार्पण गर्दै उनले भिमदत्त पन्तको ऐतिहासिक नारा “कि जोत हलो, कि छोड थलो, यदि होइन भने छैन भलो” स्मरण गरे ।
अध्यक्ष प्रचण्डको यो दुई दिने कञ्चनपुर बसाइ र सहिद परिवारसँगको भेटघाटलाई माओवादी केन्द्रले जनयुद्धका बलिदानलाई कहिल्यै नभुल्ने र सहिद परिवारको साथमा सधैं रहने पार्टीको प्रतिबद्धताको रूपमा लिएको छ।