Logo

१९ बैशाख, काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसदमा पेश गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

राष्ट्रपति पौडेल संसद भवन परिसरमा आइपुग्दा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतले स्वागत गरेका थिए। नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिलाई सम्मान गारत अर्पण गरेको थियो।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले परिवर्तन र उपलब्धिप्रति जनतालाई गौरववोध गराउन, सरकारप्रति जनताको विश्वास जगाउँदै मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनताको बलिदान र संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न सरकार दृढ रहेको उल्लेख गरे।

राष्ट्रपतिले अराजकता फैलाउने विरुद्ध सरकार कठोर रहने चेतावनी दिए। गणतन्त्रविरुद्धका प्रतिक्रियालाई कडा प्रतिवाद गरिने स्पष्ट पार्दै उनले संविधानको समीक्षा गरी आवश्यक संशोधन गरिने बताए। यसका लागि आपसी सहमति जुटाएर संविधानका कमी कमजोरी सच्याइने उनको भनाइ थियो।

सरकारको नीति तथा कार्यक्रममा राजनीतिक स्थिरतालाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। विकास निर्माणका क्रममा देखिएका कमजोरी सुधार गर्न ढाँचा परिवर्तन गर्ने, विगतका विकास कार्यक्रमको पुनरावलोकन गरी स्रोत सुनिश्चित भएका आयोजनालाई प्राथमिकता दिने र सम्भावना नभएका आयोजना स्थगित वा खारेज गर्ने योजना पनि सरकारले अघि सारेको छ।


सम्बन्धित समाचार