
२३ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णु पौडेलबीच भेटघाट भएको छ । प्रचण्डको निवास खुमलटारमा भएको भेटवार्तामा बजेटका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार, अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग बजेट निर्माणका विषयमा छलफल गरेका थिए। यो भेटवार्ता विशुद्ध बजेटका विषयमा केन्द्रित थियो र अन्य राजनीतिक विषयमा खासै कुरा भएन।
संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ। प्रचण्डले हिजोको संसद् बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रमको आलोचना गरेका थिए। संसद्का दुवै सदनबाट यही वैशाख २८ गते नीति तथा कार्यक्रम पारित गर्ने तय भएको छ।