
२४ बैशाख, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको समस्याग्रस्त सम्पत्तिको कर्पोरेट एडभाइजरको रूपमा काम गर्दै आएको कम्पनी नेक्सजेन म्यानेजमेन्टले आफ्नो पूँजी वृद्धि गरी पब्लिक लिमिटेडमा परिवर्तन गर्ने घोषणा गरेको छ ।
कम्पनीको विशेष साधारण सभा मार्फत आफ्नो अधिकृत पूँजी एकसय करोड पुयाउने र पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ। काठमाडौंको मैतिदेवीमा कम्पनीका कार्यवाहक अध्यक्ष जयकुमार मिश्रको अध्यक्षतामा बैशाख २२ गते सम्पन्न विशेष साधरणसभामा प्रबन्ध संचालक रमेश कुमार राईले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा र बैंकिङ सम्पत्ति तीव्र गतिमा वृद्धि भइरहेको जानकारी गराए ।
यसको व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनीको आवश्यकता औंल्याउँदै, नेक्सजेन म्यानेजमेन्टले पनि सोही अनुरूप पूँजी वृद्धि गरी बैंक, वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य संस्थालाई समेटेर पब्लिक लिमिटेड कम्पनीको रूपमा कार्य गर्नुपर्ने आवश्यकता औंल्याए ।
साधारणसभाले नेक्सजेनको अधिकृत र जारी पूँजी ५० करोडबाट वृद्धि गरी १०० करोड पुयाउने निर्णय गरेको छ। साथै, कम्पनीलाई पब्लिक लिमिटेडमा परिणत गर्न प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ।
विगत एक वर्षदेखि नेक्सजेन म्यानेजमेन्टले यसले निष्क्रिय कर्जा नियमित गर्न, पुनर्संञ्चालन गर्न तथा बिक्रीको लागि सहजीकरण गर्दै आएको छ। पूर्व बैंकरहरूको समूहद्वारा स्थापित यो कम्पनीले आगामी दिनमा निष्क्रिय कर्जा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ। सभाको अन्त्यमा कार्यवाहक अध्यक्ष मिश्रले सक्रिय सहभागिताका लागि संस्थापकहरूलाई धन्यवाद ज्ञापन गरे ।