
२४ बैशाख, काठमाडौं । पूर्वमन्त्री तथा प्रतिष्ठित वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ। पार्किन्सन रोग लगायतका स्वास्थ्य समस्यासँग लामो समयदेखि संघर्ष गरिरहेका नेपालको उपचारकै क्रममा नर्भिक अस्पतालमा मंगलबार निधन भएको हो ।
बौद्धिक र प्रखर वामपन्थी राजनीतिज्ञका रूपमा परिचित नेपाल पछिल्लो समय रोगका कारण सक्रिय राजनीतिबाट टाढा रहेका थिए। उनले नेकपा एमालेको नौ महिने शासनकालमा सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
नेकपा एमाले विभाजन हुँदा उनी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सल्लाहकारको भूमिकामा थिए। नेपाली साहित्यमा पनि उनको महत्वपूर्ण योगदान रहेको छ। पञ्चायतकालमा उनले सञ्जय थापाको छद्म नामबाट प्रगतिशील साहित्य सिर्जना गरेका थिए।