
२४ बैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिम संसदीय दलका नेताहरूबीचको छलफल स्थगित भएको छ । लामो समयदेखिको विवाद समाधानका लागि प्रचण्डले बुधबार दिउँसो १ बजे दलका नेताहरूलाई आफ्नो निवास खुमलटार बोलाएका थिए ।
तर प्रचण्ड हिजो राति शौचालयमा लडेर घाइते भएपछि छलफल स्थगित भएको बुझिएको छ । सुदूरपश्चिम प्रदेशका सांसद शिवसिंह ओलीले अर्को सूचना नआएसम्म छलफल स्थगित भएको जानकारी दिए।
‘संसदीय विवाद समाधानका लागि अध्यक्षले बोलाएर हामी काठमाडौँ आएका छौँ । छलफलका लागि दिउँसो १ बजे खुमलटार बोलाउनुभएको थियो । अहिले भर्खर बैठक स्थगित भएको खबर आएको छ । अर्को पटक बोलाउँछौँ भनेका छन् । कहिले बोलावट हुन्छ थाहा छैन’, रातोपाटीसँग उनले भने ।
२०८० फागुनमा संसदीय दलको नेताबाट भट्टलाई हटाएर मानबहादुर धामी दलको नेता बनेपछि विवाद उत्कर्षमा पुगेको छ । प्रचण्डले सहमतिमै विवाद समाधान गर्न पटकपटक निर्देशन दिए पनि कार्यान्वयन भएको छैन ।