Logo

२५ बैशाख, वीरगञ्ज । वडा प्रहरी कार्यालय वीर्ताले बरामद गरेको राजस्व छलिको सामान भन्सार कार्यालयमा बुझाएको छ । वीरगञ्ज महानगरपालिका–०८ स्थित माईस्थान पछाडिको सडक खण्डबाट प्रहरीले ठूलो परिमाणको भन्सार छलीको मोबाइल सामग्री नियन्त्रणमा लिएको हो।

वडा प्रहरी कार्यालयका वीताका इञ्चार्ज प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा रहेको प्रहरी टोलीले विशेष सूचनाको आधारमा गरेको कारबाहीमा मोबाइलमा प्रयोग हुने २० प्याकेट हार्ड ग्लास र विभिन्न ब्राण्डका ३७२ थान ब्लुटुथ एअरपड्स फेला पारेको हो ।

बरामद गरिएको उक्त सामग्रीको अनुमानित बजार मूल्य ४ लाख ५४ हजार ४ सय रुपैयाँ रहेको छ। बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका सामानहरू नेपालमा भित्र्याउने प्रयासहरू बढिरहेको प्रहरीले बताएको छ। सीमा क्षेत्रमा यस्ता गतिविधि रोक्न प्रहरीले निगरानी बढाएको जानकारी दिएको छ।

सुरक्षा अधिकारीहरूका अनुसार यस्ता गैरकानुनी कार्यले राज्यको आम्दानीमा नकारात्मक असर पार्छ र बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना गर्छ। त्यसैले यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन थप कडाइ गरिएको छ।

यस घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान गरी पक्राउ गर्न प्रहरीले अनुसन्धान जारी राखेको छ।


सम्बन्धित समाचार