२५ बैशाख, काठमाडौं । काठमाडौंको सत्ता राजनीति यतिबेला भुमरीमा फसेको छ। एकातिर एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, लडेर थलिए पनि नेकपा एमालेसँगको गोप्य वार्तामा लिप्त छन्। यो रहस्यमय भेटघाटले सत्ताधारी गठबन्धनमा भूकम्प ल्याएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको सिंहासन नै हल्लिएको छ।
अर्कोतिर, राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई लिएर प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको सम्बन्ध पानी बाराबारको स्थितिमा पुगेको छ। कांग्रेसको लगातारको दबाबलाई बेवास्ता गर्दै प्रधानमन्त्री ओली राष्ट्र बैंकको बागडोर आफ्नै हातमा राख्न चाहन्छन्। यही मौकालाई सदुपयोग गर्दै प्रचण्डले देखाएको ‘लचकता’ले ओलीलाई आफ्नो कित्तामा तान्न सक्ने अड्कलबाजी राजनीतिक वृत्तमा व्याप्त छ।
दुई महिना बितिसक्दा पनि देशको केन्द्रीय बैंक नेतृत्वविहीन छ। संसदमा सरकारको नीति तथा कार्यक्रममाथि बहस चलिरहेको छ, नयाँ बजेटको तयारी हुँदैछ, तर देशको अर्थतन्त्रलाई अभिभावकविहीन छोड्नु आफैंमा जोखिमपूर्ण छ। सोमबार प्रधानमन्त्री ओली र देउवाबीच भएको निर्णायक वार्ता पनि बिना निष्कर्ष टुङ्गिएको छ, बरु दुई दलबीचको खाडल झन् गहिरिएको छ। प्रधानमन्त्रीले गभर्नर आफैंले नियुक्त गर्ने अडान लिएपछि देउवा झस्किएका छन्।
यति मात्र होइन, प्रधानमन्त्री ओली भारतसँगको सम्बन्ध सुधार हुन नसकेकोमा कांग्रेससँग रुष्ट छन्। उनले परराष्ट्रमन्त्री आरजु राणा देउवाको भूमिकामाथि नै प्रश्न उठाएका छन्। रोचक कुरा त के छ भने, ओलीले अहिलेसम्म भारत भ्रमणको निम्तो पाएका छैनन्, तर देउवालाई भने तुरुन्तै निम्तो आउने खबरले राजनीतिक माहोललाई थप तरंगित बनाएको छ।
ओली जसरी पनि २०८४ को निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउने दाउमा छन्। तर, भारतसँगको सम्बन्ध सुमधुर नभए उनको प्रधानमन्त्री बन्ने सपना अधुरो रहन सक्छ। यही कमजोर कडीलाई समातेर प्रचण्डले ओलीलाई ‘धेरैथोक’ दिएर भए पनि प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुने महत्वाकांक्षा पालेका छन्। ओली पनि प्रचण्डसँग सहकार्य र एकताको लागि सकारात्मक देखिएका छन्। यो एकतामा नेकपा एकीकृत समाजवादीलाई पनि सामेल गर्ने प्रयास जारी छ, तर पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने यस गठबन्धनको लागि फलामको चिउरा साबित हुन सक्छन्।
ओलीले माधव नेपाललाई आफ्नो योजनामा सहमत गराउन एउटा पेचिलो अस्त्र प्रयोग गर्ने तयारी गरेका छन् – पतञ्जली जग्गा प्रकरण। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपालसहितलाई मुद्दा चलाउने निर्णय गरिसकेको भए पनि, ओलीले त्यो प्रक्रियालाई अहिलेलाई ‘होल्ड’मा राखेका छन्। यो रहस्यमय चालले काठमाडौंको राजनीतिक परिदृश्यलाई थप रोचक र अप्रत्याशित बनाएको छ। अब हेर्न बाँकी छ, प्रचण्डको ‘लचकता’ले ओलीको कुर्सी ढाल्छ कि दुई ध्रुवबीच नयाँ समीकरण बन्छ!

















