
२७ वैशाख,वीरगञ्ज । मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले शनिबार पर्सा जिल्ला निर्वाचन क्षेत्र नं ३ मा विकास निर्माणका कार्यलाई तीव्रता दिएका छन्। मन्त्री जयसवालले एकैदिन विभिन्न स्थानमा पुगी धेरै योजनाको शिलान्यास तथा निर्माण कार्यको अनुगमन गरेका हुन्। ।
उनले बहुरमाई नगरपालिका वडा नं ८ मा रामजानकी मन्दिरको शिलान्यास गरे। सोही वडामा रहेको श्री सितालामाई मन्दिरमा भइरहेको निर्माण कार्यको समेत उनले स्थलगत निरीक्षण गरी जानकारी लिए।
त्यसैगरी, मन्त्री जयसवाल पटेर्वा सुगौली गाउँपालिका पुगेका थिए। त्यहाँ उनले वडा नं ५ निचुटामा सडक ढलान कार्यको शिलान्यास गरे। साथै, उनले वडा नं ३ मा मन्दिर शिलान्यास, वडा नं १ मा धर्मशाला शिलान्यास र वडा नं १ मै निर्माण भइरहेको धर्मशालाको अनुगमन गरी निर्माण कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिए।
मन्त्री जयसवालले निर्वाचन क्षेत्रका जनताको आवश्यकतालाई ध्यानमा राखेर विकास योजना अगाडि बढाइएको बताए। उनले धार्मिक तथा भौतिक पूर्वाधार विकासमा प्रदेश सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै यी योजनाहरु सम्पन्न भएपछि स्थानीय समुदायले प्रत्यक्ष लाभ लिने विश्वास व्यक्त गरे।