
२८ बैशाख, काठमाडौँ । आम जनता पार्टी (आजपा) ले गणतन्त्र दिवसको सन्दर्भ पारेर देशभर ‘दलाल दलतन्त्र’ विरुद्ध सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले, वर्तमान दलप्रेरित गणतन्त्रले आम नागरिकको अपेक्षा पूरा गर्न नसकेको भन्दै ‘जनगणतन्त्र’ को अवधारणा अघि सारेको हो । पार्टीले “दलीय गणतन्त्रको भण्डाफोर गरौँ ! जन गणतन्त्रको दिशामा अघि बढौँ!!” भन्ने मूल नाराका साथ देशभर जनजागरण अभियान सञ्चालन गर्ने जनाएको छ ।
पार्टी प्रवक्ता चन्द्र भूषण साहद्वारा जारी गरिएको विज्ञप्तिमा, अभियान सञ्चालनका लागि विभिन्न प्रदेशमा नेतृत्व तोकिएको जानकारी गराइएको छ । संघीय राजधानी काठमाडौँमा अध्यक्ष प्रभु साह स्वयं नेतृत्वमा रहनेछन् भने, कोशी प्रदेशमा तिलक थापा मगर, मधेस प्रदेशमा चन्द्रभुषण साह, लुम्बिनी प्रदेशमा त्रिभुवन साह, गण्डकी प्रदेशमा ज्ञानेन्द्र कुमार तामाङ र सुदूरपश्चिम प्रदेशमा समिना हुसैन नेतृत्वमा रहनेछन् ।
संगठन सुदृढ गर्न त्रिभुवन साहलाई संगठन विभाग प्रमुख, रञ्जु साहलाई आर्थिक विभाग प्रमुख र रवीन्द्र प्रसाद सिंहलाई शिक्षक विभागको जिम्मेवारी दिइएको छ । साथै, लुम्बिनी प्रदेशबाट डा. उष्मान अलि, शम्भु जयसवाल, भगत र विद्या शर्मालाई सचिवालय सदस्यमा मनोनीत गरिएको छ ।
बैठकले पार्टी संगठनलाई जनस्तरमा विस्तार गर्न सदस्यता अभियानलाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । आजपाले यो अभियानलाई दलाल राजनीतिक संस्कृतिविरुद्ध वैकल्पिक जनसंघर्षको रूपमा प्रस्तुत गर्ने जनाएको छ ।