Logo

२८ बैशाख, वीरगञ्ज । ‘चलचित्र पत्रकारिताको मूल मर्म र व्यवसायिक पत्रकारिताका लागि सञ्चारकर्मको मूल नारा’ भन्ने मूल मन्त्रका साथ चलचित्र पत्रकार संघ नेपाल पर्साको प्रथम अधिवेशन आइतबार वीरगञ्जस्थित पब्लिक कलेज, पानीटंकीमा भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता संघकी अध्यक्ष नीलिमा पौडेलले गर्नुभएको थियो भने अधिवेशनका प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य हुनुहुन्थ्यो ।
विशिष्ट अतिथि चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा र अतिथिमा मधेश प्रदेश पत्रकार महासंघका अध्यक्ष श्याम बन्जरा, नन्दु श्रीवास्तव, नवराज भण्डारी, तथा ग्यान्दा एकेडेमीका प्रमुख राजेन्द्र प्रसाद कोइरालाको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न वक्ताहरूले चलचित्र पत्रकारिताको महत्व, यसको वर्तमान अवस्था र भविष्यको दिशाबारे धारणा राख्दै पेशागत मर्यादा, अनुसन्धानमुखी लेखन र तथ्यपरक पत्रकारिताको आवश्यकता औँल्याएका थिए ।

प्रमुख अतिथि डा. शाक्यले चलचित्र पत्रकारिता नेपालमा अझै नयाँ विधा भए पनि यसले राष्ट्रिय सिनेउद्योगको प्रवर्द्धनमा सकारात्मक योगदान दिँदै आएको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा साक्षर, जिम्मेवार र पेशेवर पत्रकारिता अभ्यासको सुदृढीकरणमा जोड दिनु आवश्यक रहेको धारणा राख्नुभयो ।

अधिवेशनको बन्द सत्रमार्फत नयाँ कार्यसमिति चयन गरिएको छ । नवगठित कार्यसमितिमा:- सूर्यनारायण विक – अध्यक्ष, आनन्द पटेल – उपाध्यक्ष, रञ्जित यादव – सचिवको रूपमा मनोनयन भएका छन् । नयाँ नेतृत्वले चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धि, सञ्जाल विस्तार र पेशागत हकहित सुनिश्चित गर्ने कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

अधिवेशनमा चलचित्र पत्रकार, सञ्चारकर्मी, शैक्षिक क्षेत्रका विद्वान् र विभिन्न पेशागत व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको समापनमा नवनिर्वाचित अध्यक्ष सूर्यनारायण विकले सम्पूर्ण सहभागी, अतिथि तथा आयोजकप्रति आभार प्रकट गर्दै आगामी कार्यकालमा संघलाई अझ सशक्त र उद्देश्यपूर्ण रूपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार