
३० वैशाख,रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिकामा विवाह भएको ६ महिना नपुग्दै २१ वर्षीया सानिया प्रविनको शङ्कास्पद मृत्यु भएको छ। कटहरिया–३ बडेरवा टोल घर भई हाल कटहरिया–५ बजार क्षेत्रमा बस्ने अरमान राय भाटकी श्रीमती सानिया आइतबार दिउँसो आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
प्रहरीका अनुसार सानियाको शव साडीको पासो बनाई सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा भेटिएको थियो। घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय कटहरिया र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोली घटनास्थल पुगेको थियो। प्रहरीले मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको थियो। पोस्टमार्टमपछि शव सानियाकी आमा कायमा खातुनले बुझेर लगेकी छन्। कायमा भारतको बिहार पूर्वी चम्पारण जिल्ला सुगौलीकी बासिन्दा हुन्।
मृतक सानियाकी आमा कायमा खातुनले ज्वाइँ अरमान राय भाट र उनको परिवारले विवाहपछि निरन्तर दाइजोको लागि छोरीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाएकी छन्। उनले ज्वाइँ र उनको परिवारले दिएको यातना सहन नसकेर सानियाको हत्या गरी आत्महत्या देखाउन खोजेको दाबी गरेकी छन्। सानियाको माइती पक्षले घटनामा संलग्न अरमानसहित सबैलाई पक्राउ गरी कडा कानुनी कारबाहीको माग गरेको छ।
माइती पक्षले छोरीको हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएको जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्र कानुनी प्रक्रिया अगाडि बढाइने बताएका छन्।