
३१ बैशाख, विराटनगर । मोरङको रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा करेन्ट लागेर दुई वृद्धा महिलाको मृत्यु भएको छ।
गएराति छिमेकी मंगललाल सिंहका छोराको विवाह समारोहमा नाचगानको क्रममा करेन्ट लाग्दा ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको ज्यान गएको हो । उक्त घटनामा स्थानीय ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते भएकी छन् ।
विवाह घरमा माइक जडान गर्नका लागि हाइटेन्सन लाइन नजिकै हरियो बाँस गाडिएको थियो । पानीसँगै आएको हावाहुरीले बाँस ढलेर विद्युत् लाइनमा छोएपछि करेन्ट प्रवाह भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले बताए ।
गम्भीर घाइते दुई जनालाई तत्काल रंगेली अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकले राति ९ बजे मृत घोषित गरेका थिए । घाइते राधाकुमारी उपचारपछि घर फर्किएकिछिन् । मृतकहरूको शव पोष्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिने प्रहरीले जनाएको छ ।