
३१ वैशाख,काठमाडौं । प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ । मंगलबार साँझ बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् । बालुवाटारमा जनसंगठनका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले लोगो सार्वजनिक गरेका हुन् ।
लोगो सार्वजनिक गर्दै उनले मर्यादित र व्यवसायीक पत्रकारिता क्षेत्रको विकास र पत्रकारको सशक्तीकरणका लागि प्रेस चौतारीले थालेको अभियानको प्रशंसा गरे । ‘झूटा कुरालाई होइन, सत्यलाई साथ दिनुस्, तथ्य राखेर सत्यलाई स्थापित गर्ने काममा लाग्नुस्, सोसल मिडिया, डिजिटल प्लेटफर्मतिर अफबाह फैलाउने झूटका पुजारीहरूलाई प्रमाण राखेर सही बाटोमा आउन बाध्य पार्नुस्’, ओलीले भने, ’सामाजिक सञ्जालमा ताल र सुर बिनाका पिपिरी बाजा बजाउनेहरूलाई जवाफ दिनुहोस् ।’
प्रेस चौतारी नेपालले २०८२ लाई प्रशिक्षण वर्षको रूपमा लिएको छ । प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले प्रशिक्षण वर्ष २०८२ अन्तर्गत सातवटै प्रदेश र ७७ वटै जिल्लामा पत्रकारहरूका लागि आधुनिक पत्रकारिता, डिजिटल माध्यम, प्रेस स्वतन्त्रता र श्रम अधिकारजस्ता विषयमा प्रशिक्षण सञ्चालन गर्ने जानकारी दिए । यसले चौतारी आबद्ध पत्रकारहरू वैचारिक रूपमा मजबुत र वैचारिक रूपमा अब्बल हुने पाण्डेको भनाइ थियो ।
तालिमले व्यावसायिक र मर्यादित पत्रकारितामा योगदान पु¥याउने उनको दाबी छ । ‘यो वर्ष हामीले देशभरिका पत्रकारलाई प्रत्यक्ष प्रशिक्षण दिने लक्ष्य लिएका छौं, प्रशिक्षणले पत्रकारहरूको व्यावसायिक क्षमता वृद्धिसँगै मिडिया क्षेत्रलाई थप मर्यादित, उत्तरदायी र जनमुखी बनाउन मद्दत गर्नेछ । जिल्ला शाखाले कम्तीमा तीन वटा प्रशिक्षण कार्यक्रम राख्ने छन्’, उनले भने ।
प्रेस चौतारी नेपाल प्रगतिशील व्यवसायीक पत्रकारहरूको क्षेत्रमा विगत २७ वर्षदेखि काम गर्दै आएको संस्था हो । संगठनमा ७ हजारभन्दा बढी पत्रकार आबद्ध छन् ।
कार्यक्रममा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम लगायतका नेताहरूको सहभागिता रहेको थियो ।