Logo

५ जेठ,काठमाडौं । नेपालले आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई ५ विकेटले पराजित गर्दै ग्लोबल क्वालिफायरमा स्थान बनाएको छ।

सोमबार मध्याह्न सम्पन्न खेलमा यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कप्तान इन्दु बर्माले अविजित ३४ रनको महत्त्वपूर्ण योगदान गरिन्।

त्यसअघि यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएको थियो। यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाउँदा तीर्था सतिशले २१ र हीना होचन्दानीले २० रन जोडेका थिए।

नेपालको बलिङतर्फ मनिषा उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिइन्। कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट हात पारे।

लगातार दुई खेलमा हार बेहोरेपछि यूएई सुपर थ्रीबाट बाहिरिएको छ। यूएई पहिलो खेलमा थाइल्यान्डसँग ५४ रनले पराजित भएको थियो। अब नेपालले मंगलबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।


सम्बन्धित समाचार
भर्खरै