
५ जेठ,बिर्तामोड । झापा प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएको ठूलो परिमाणको सामानसहित तीन वटा कन्टेनरलाई नियन्त्रणमा लिएको छ। बिर्तामोड नगरपालिका–५ बाट आइतबार राति नेपाल प्रहरीले यी कन्टेनरहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
भारतबाट काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एन ७४८६ नम्बरका तीन भारतीय नम्बर प्लेटका कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रविण श्रेष्ठका अनुसार, यी कन्टेनरहरूबाट तीन करोड ६१ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ।
भन्सार छली गरी नेपाल ल्याइएका ट्याक कम्बाईन हार्भेस्टर लगायतका सामान बोकेका ती कन्टेनरहरूलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिएका छन्।