Logo

५ जेठ, काठमाडौँ । तिब्बतको केरुङबाट स्याउ बोकेर ल्याउँदै गरेको कन्टेनरबाट आइतबार ७ किलो ६ सय ५३ ग्राम सुन बरामद भएको छ। रसुवा भन्सार नाकाबाट बरामद गरिएको उक्त सुनको मालिक को हो भन्ने खुलेको छैन।

प्रहरीले कन्टेनर चालक २४ वर्षीय किशोर भुजेललाई पक्राउ गरे पनि उनले सुनको स्वामित्वबारे केही खुलाएका छैनन्। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेमबहादुर शाहीले सुन सम्बन्धी अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। “हामीले पटक–पटक सोधपुछ गरिरहेका छौँ, तर चालकले आफूलाई थाहा नभएको भन्छन्,” डीएसपी शाहीले बताए।

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ का स्थायी बासिन्दा भुजेल तिब्बती भूभाग केरुङ जाने विशेष पास प्राप्त चालक हुन्। उनी स्याउ बोकेको कन्टेनर चलाएर ल्याउँदै गर्दा, फल्स बटम (नक्कली भुइँ) बनाइएको कन्टेनरभित्र सुन लुकाइएको भेटिएको हो। फल्स बटम बनाउन कन्टेनरको संरचना बिगार्नुपर्ने भएकाले चालक वा मालिकको सहमति विना त्यस्तो संरचना सम्भव नभएको प्रहरी स्रोत बताउँछ।

बरामद गरिएको सुन ७ वटा बिस्कुट आकारको र केही साना टुक्राहरू रहेको छ। कन्टेनर चालकको सिट नजिकै बनाइएको फल्स बटममा सुन लुकाइएको प्रहरीले जनाएको छ।

डीएसपी शाहीका अनुसार कन्टेनरलाई मितेरी पुल पार गरेपछि नियन्त्रणमा लिइएको थियो। प्रहरीले गुप्त सुराकीको आधारमा कन्टेनरमाथि निगरानी गर्दै आएको थियो। सुराकीको आधारमा सदरमुकामबाट डीएसपी शाही आफैँ रसुवा नाका पुगेका थिए।

भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार कन्टेनरलाई नियन्त्रणमा लिई सुनसहित सोमबार भन्सारमा बुझाउने तयारी गरिएको छ। प्रहरीले प्रतिवेदनसहित चालकलाई भन्सारलाई बुझाउनेछ।

हालसम्मका यस्ता प्रकरणमा चालक वा भरिया मात्र पक्राउ पर्ने र मालिक पत्ता नलाग्ने प्रवृत्ति देखिएको छ। स्रोतका अनुसार भरिया वा चालकलाई पहिल्यै खर्च तथा पारिवारिक जिम्मेवारीको ग्यारेन्टी दिने व्यवस्था मिलाइने भएकाले उनीहरू मालिकबारे बोल्न चाहँदैनन्।

बरामद गरिएको सुनको बजार मूल्य करिब १२ करोड रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ। यस्ता ठूला सुन प्रकरणहरूमा मुद्दा जिल्ला अदालतमा पेश गरिनेछ भने सुन नेपाल राष्ट्र बैङ्कलाई बुझाइने भन्सार प्रमुख भट्टराईले जानकारी दिए।


सम्बन्धित समाचार