Logo

जेठ ७, काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिकाले पालिकाभित्र ‘मिलेर बसेका’ उत्कृष्ट दम्पतीलाई सम्मान गर्ने भएको छ ।

उनीहरूलाई नगरपालिकाले ‘ढुकुर जोडी’ को रुपमा सम्मान गर्ने भएको हो । पछिल्लो समयमा सुन्दरहरैँचा नगरपालिकाको न्यायिक समितिमा पती–पत्नी बीचको झै–झगडा, इज्जतअनुसार खान–लाउन पाउनुपर्ने, लैंगिक हिंसा, गाली बेइज्जतीसम्बन्धी मुद्दा दिन–प्रतिदिन बढ्दै आएकोले नयाँ अवधारणा ल्याइएको उपमेयर अकली चौधरीले जानकारी दिनुभयो । समाजमा लामो समयदेखि विभिन्न आरोह–अवरोह पार गर्दै सुखद दाम्पत्य जीवनयापन गर्दै आएका जोडीलाई प्रोत्साहन गर्न कार्यक्रम राखिएको उहाँको भनाई छ ।

उपमेयर चौधरीले गत ३ वर्षमा श्रीमान–श्रीमतीसँग सम्बन्धित १२६ वटा मुद्दा न्यायिक समितिमा परेको बताउनुभयो । ७९/८० मा १९० मुद्दा आएकोमा ४१ वटा श्रीमान– श्रीमतीको झगडासँग सम्बन्धित थियो । यस्तै ८०/८१ मा २१२ मध्ये ६२ र यो वर्ष ८२ वटा दर्ता भएकोमा २३ वटा पति–पत्नी झगडासँग सम्बन्धित रहेको चौधरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार