Logo

८ जेठ,जनकपुर । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहले प्रदेशका कर्मचारीहरूमा काम गर्ने मनसाय कम देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । अर्थ मन्त्रालयद्वारा आयोजित विनियोजन विधेयक २०८२ को मस्यौदाका लागि सुझाव संकलन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बिहीबार बिहान भौतिक मन्त्रालयको सभाकक्षमा आयोजित सुझाव संकलनमा मुख्यमन्त्री सिंहले पछिल्लो समय प्रदेशका हरेक मन्त्रालयमा कार्यरत कर्मचारीहरू काम गर्न त्यति इच्छुक नदेखिएको भनाइ राखे । उनले कर्मचारीहरूको ढिलासुस्तीले प्रदेश सरकारको कामकारबाहीमाथि प्रश्न उठिरहेको भन्दै यो आचरणलाई तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।

कार्यक्रममा सहभागी सचिवहरूलाई मुख्यमन्त्री सिंहले भने, “अब यो प्रवृत्तिले प्रदेश सरकारको कार्यसम्पादनमाथि नै प्रश्न उठ्छ, त्यसकारण यसलाई तपाईँहरू सुधार गर्नुस् । बरु उत्कृष्ट काम गर्ने कर्मचारीलाई मनोबल बढाउनका लागि पुरस्कारको व्यवस्था गर्नुस्, त्यसमा प्रदेश सरकारले सबै सहयोग गर्छ । अनि लापरबाही गर्ने कर्मचारीहरूको लागि घटुवा हुने व्यवस्था गर्नुस्, तब मात्रै यो समस्या समाधान हुनेछ ।“

सोही कार्यक्रममा सहभागी अर्थमन्त्री सुनिल यादवले कार्यविधिको कारणले बजेट खर्च हुन नसकेको प्रष्ट्याए । उनले सबै सचिवहरूबाट प्राप्त महत्त्वपूर्ण सुझावलाई आत्मसात् गरेर कार्यविधि तयार गरिने जनाए ।

रकमान्तर, आयोजना तथा कार्यक्रमको संशोधन, अवान्डा बजेट नराख्ने विषय, एकमुष्ट विनियोजित बजेटको बाँडफाँट, नयाँ योजना तथा कार्यक्रम, बजेट निर्माण, कार्यविधि निर्माण गर्ने अधिकार, विगतको बक्यौता रकमसहितका १० वटा एजेन्डामाथि छलफल भएको थियो । छलफलमा सचिवहरूले आफ्ना राय तथा सुझाव मुख्यमन्त्री सिंहलाई टिपाएका छन् । कसरी विनियोजन विधेयक तयार गर्ने भन्ने विषयमा सचिवहरूले संघीय नीतिलाई मध्यनजर गरेर जान सुझाव दिएका छन् ।


सम्बन्धित समाचार
भर्खरै