९ जेठ,जनकपुर । नेकपा एमाले धनुषा जिल्लाको आठौँ अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनको मतगणना नतिजा सार्वजनिक भएको छ। अबेर राति सम्पन्न मतगणना अनुसार नेता रघुवीर महासेठ निकट भोला यादव नेतृत्वको समूह प्यानलसहित विजयी भएको छ।
प्राप्त अन्तिम परिणाम अनुसार, अध्यक्ष पदमा भोला यादवले ४०२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मीनारायण यादवले २०२ मत प्राप्त गरेका थिए।
त्यसैगरी, उपाध्यक्ष पदमा तेजनारायण यादवले ४३० मतका साथ जित हासिल गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जयप्रकाश सुनरैतले १६० मत प्राप्त गरेका थिए।
सचिव पदमा दिपनारायण ठाकुरले ३६५ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी धिरेन्द्र मण्डलले २२५ मत प्राप्त गरेका थिए।
यस्तै, उपसचिव पदमा सबिन विक्रम थापा विजयी भएका छन् भने महिला उपसचिवतर्फ रुका कुमारी मिश्रले विजय हासिल गरेकी छन्।
लेखा समितिको संयोजक पदमा वीरेन्द्रलाल कर्ण विजयी भएका छन्।














