११ जेठ, काठमाडौं । गृहमन्त्रीको राजिनामा माग भैरहेको बेला सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।
बैठक दिउँसो २ बजे एमालेको केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । एमाले नेताहरूका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्न र पार्टीका केही आन्तरिक विषयमा निर्णय गर्न बैठक बस्न लागेको हो । यसअघिकै बैठकका लागि तय केही एजेन्डामा निर्णय गर्न पनि बाँकी नै छ ।
गत वैशाख २१ गते बसेको सचिवालय बैठकबाटै एमालेका निलम्बित स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको कारबाही फुकुवा गर्ने भनिए पनि फेरि वैशाख २४ गते बैठक बसेर निर्णय गर्ने भनिएको थियो । तर त्यस दिन बैठक बस्न सकेन । त्यसको तीन सातापछि आज एमाले सचिवालयको बैठक बस्न लागेको हो । अहिले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग भइरहेको बेला एमालेको केन्द्रिय सचिवालय बैठक आव्ह्वान गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा विदेश जाने नेपालीहरूबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री लेखकसमेत संलग्न रहेको आरोप लागेपछि उनकै पार्टी कांग्रेसकै नेताहरूले नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरिरहेका छन् ।
यसको चर्चा व्यापक बन्न थालेपछि गृहमन्त्री लेखकले शनिबार गृह मन्त्रालयका तर्फबाट विज्ञप्ति जारी गर्न लगाई त्यस प्रकरणमा आफू संलग्न नरहेको दाबी पनि गरेका छन् तर यसबाट सत्तारुढ दलकै नेता सन्तुष्ट हुन सकेका छैनन् ।
















