Logo

१४ जेठ, काठमाडौं — चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई दुई महिना पुगेकै दिन, जेठ १५ गते फेरि राजावादीहरू र सत्ता पक्ष आमनेसामने उत्रिन थालेका छन्। तीनकुनेको झडपपछि छिन्नभिन्न देखिएको राजावादी मोर्चा पूर्वराजा ज्ञानेन्द्र शाहको नगरकोट भेटपछि पुनः संगठित भएको छ, र अब उनीहरूले रत्नपार्कमा शक्ति प्रदर्शन गर्ने घोषणा गरेका छन्।

तर त्यसैदिन गणतन्त्र दिवसको उपलक्ष्यमा नेकपा एमालेले पनि राजधानीमै उत्सवको कार्यक्रम राख्दैछ। सत्ता पक्ष र विरोधीहरूबीच एउटै मितिमा, एउटै क्षेत्रमा हुने कार्यक्रमले संभावित टकरावको खतरा बढाएको छ।

तीनकुनेको घाउ अझै ताजा, तर आन्दोलन फेरि सक्रिय

चैत १५ गतेको प्रदर्शन केवल नाराबाजीमा सीमित रहेन। दुर्गा प्रसाईंको नेतृत्वमा उत्रिएको प्रदर्शन हिंसात्मक बनेर दुई जनाको ज्यान गयो, ६५ जनाविरुद्ध मुद्दा चल्यो र कयौं हिरासतमा परे। प्रसाईंसहित केही प्रतिवादी अझै थुनामै छन्।

यही पृष्ठभूमिमा जेठ १५ को तयारीलाई राज्यले कडा निगरानीमा राखेको छ। हालैदेखि जिल्ला अदालतमा सुरु भएको बकपत्रमा राज्यविरुद्धको कसुरदेखि लिएर कर्तव्य ज्यान, सार्वजनिक सम्पत्तिको क्षति, र अभद्र व्यवहारजस्ता गम्भीर आरोपहरू लगाइएका छन्।

शान्तिपूर्ण प्रदर्शनको घोषणा, तर तनावको संकेत

राजावादी दल र समूहहरूले जेठ १५ मा रत्नपार्कमै प्रदर्शन गर्ने अडान लिएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशासनले अनुमति नदिए पनि रत्नपार्क नछाड्ने चेतावनी दिएका छन्। उनी भन्छन्, “शान्तिपूर्ण कार्यक्रमका लागि अनुमति चाहिँदैन।”

तर सत्ता पक्ष एमाले भने त्यही दिन गणतन्त्र उत्सव मनाउने तयारीमा छ, र कार्यक्रम स्थलका लागि दरबारमार्ग, भृकुटीमण्डप वा रत्नपार्क वरपरको क्षेत्र मागिएको छ।

यसले एउटै क्षेत्रभित्र दुई विपरीत धारका प्रदर्शनहरू हुन सक्ने स्थिति बनाएको छ, जसले चैत १५ को दोहोरिएको सम्भावना नकार्न सकिदैन ।

प्रशासन अलर्ट मोडमा, सेना पनि तयारीमा

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार, प्रशासनले अझै कुनै निर्णय गरेको छैन। तर बिहिवार पनि सुरक्षा समिति बैठक बोलाइएको छ, जसमा सुरक्षा रणनीति तय गरिनेछ।

नेपाल प्रहरीका प्रवक्ता रमेश थापाले भने, “चैत १५ को जस्तो अवस्था दोहोरिन दिँदैनौं। यसपटक तयारी पूरा छ।”त्यस दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाली सेना सम्म फिल्डमा खटिन सक्नेछ।

राजनीतिक जोखिम : ओलीको निर्देशन, लिङ्देनको आरोप

अहिलेको तनावमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति पनि थपिएको छ। उनले कार्यकर्तालाई “जेठ १५ मा काठमाडौं एमालेको नियन्त्रणमा राख्न” निर्देशन दिएका छन्। त्यही दिन कार्यक्रम राखेर भिडन्तको अवस्था सिर्जना गर्न खोजिएको राजावादीको आरोप छ।

यसैबीच, तीनकुने घटनाको जिम्मेवारीबाट राप्रपाका नेताहरू पन्छिन थालेका छन्। वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाले दोष दुर्गा प्रसाईंमाथि थोपरेका छन्, जसले नेतृत्व गरेको प्रदर्शनमा उनीहरू सहभागी थिए ।

एकातिर गणतन्त्रको १६ वर्षे यात्राको उत्सव, अर्कातिर राजसंस्थाको पुनर्स्थापनाको लागि राजावादीहरुको शक्ति प्रर्दशन । सडकमा शक्ति देखाउने होड, प्रशासनको दबाब, र हिंसाको पुरानो चिह्न अझै मेटिएको छैन। जेठ १५ का लागि काठमाडौँ उत्सव र उथलपुथलबीचको मोडमा छ।

जनताले लडेर ल्याएको गणतन्त्रका विरुद्द लागेका राजावादीका हर्कतलाई निस्तेज पार्न गणतन्त्र पक्षधरहरुको एउटै स्वर छ, भूत भईसकेको राजतन्त्र फर्किदैन ।


सम्बन्धित समाचार