१ असार, जनकपुर । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आजसम्मकै न्यून आकारको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। आर्थिक स्रोतको सीमितता र राजस्व संकलनमा देखिएको दबाबका कारण यसपटक बजेटको आकार उल्लेखनीय रूपमा घटाइएको हो।
प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ, जहाँ अर्थमन्त्री युवराज भट्टराईले आगामी वर्षको आय-व्यय विवरण प्रस्तुत गर्नेछन् । बजेटले भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन तथा यातायातलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।
अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी वर्षका लागि करिब ४१ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी छ, जुन प्रदेश स्थापना भएयताकै सबैभन्दा सानो बजेट हुनेछ। बजेटको कुल आकार ४२ अर्ब रुपैयाँभन्दा कम रहने बताइएको छ।
गत आर्थिक वर्ष २०८२/०८३ का लागि मधेश सरकारले ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको थियो। तर अपेक्षित राजस्व संकलन हुन नसक्दा झण्डै १२ अर्ब रुपैयाँको वित्तीय दबाब सिर्जना भएको थियो। त्यसको असरस्वरूप सरकारले चालु वर्षमै अधिकांश विकास योजनाको बजेट २० प्रतिशतसम्म कटौती गर्नुपरेको थियो।
यसपटकको बजेटमा साना–साना योजनाभन्दा ठूला र प्रभावकारी परियोजनामा जोड दिने रणनीति अपनाइएको जनाइएको छ। उपभोक्ता समितिमार्फत सञ्चालन हुने छरिएका योजनाको संख्या घटाउँदै विभिन्न शीर्षकलाई एकीकृत गरेर कम्तीमा एक करोड रुपैयाँ लागतका योजनालाई प्राथमिकता दिने तयारी गरिएको स्रोतले जनाएको छ।
प्रदेश सरकारको यो कदम सीमित स्रोतसाधनलाई केन्द्रित गर्दै विकास खर्चको प्रभावकारिता बढाउने प्रयासका रूपमा हेरिएको छ।
















