१ असार,काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा पर्सि बुधबारसम्म तातो दिनको अवस्था कायम रहने जनाएको छ। पर्याप्त वर्षा नहुँदा यी क्षेत्रमा उच्च तापक्रमको प्रभाव अझै केही दिन रहन सक्ने महाशाखाको अनुमान छ।
महाशाखाका अनुसार आज, भोलि र पर्सिसम्म देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। साथै विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
यस्तै, कोशी प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान छ।
भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने जनाइएको छ।
महाशाखाका अनुसार पर्सि पनि मौसमको अवस्था धेरै फरक नहुने देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा गर्मीको प्रभाव कायम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यधिक घाम लाग्ने समयमा बाहिरी गतिविधि कम गर्न, प्रशस्त पानी पिउन तथा स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न सर्वसाधारणलाई सुझाव दिइएको छ।
















