१ असार, काठमाडौं । नेपाली आकाशमा भारतीय सेनाको हेलिकप्टरले गरेको अनधिकृत उडान र देशका विभिन्न भागमा भइरहेका जनसरोकारका घटनाहरूप्रति सरकार गम्भीर नभएको भन्दै संसद्मा प्रश्न उठेको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले दार्चुलाको भूमि प्रयोग गरी भारतीय सेनाको हेलिकप्टरले नेपाली आकाशमा निर्बाध उडान भर्नुको कारणबारे सरकारसँग कडा स्पष्टीकरण मागेका हुन् ।
राष्ट्रिय सुरक्षासँग जोडिएको यो संवेदनशील विषयमा सरकारको मौनताप्रति असन्तुष्टि जनाउँदै सांसद दुलालले कैलालीमा प्रहरीद्वारा नागरिकको घरमा गरिएको ढुङ्गा प्रहारको घटनाबारे समेत ध्यानाकर्षण गराएका छन् । उनले जनताका यस्ता जल्दाबल्दा र संवेदनशील मुद्दाहरूमा सरकार निरीह बनेको भन्दै संसद्मा जवाफ माग गरेका हुन् ।
यसैबीच, सांसद दुलालले प्रधानमन्त्रीको कार्यशैली र सामाजिक सञ्जालमा देखाइने तस्बिरप्रति कटाक्ष गरेका छन्। प्रधानमन्त्री शाहले केही मन्त्रीहरूसहितको तस्बिर राखेर ‘देश बनाउने टीम’ घोषणा गरेको प्रसंगलाई ब्यंग्य गर्दै उनले भने, ‘प्रधानमन्त्रीज्यूले आफ्नो बिदा मनाइसक्नुभयो, ‘जम्बो टोली’ पनि घोषणा गरिसक्नुभयो ।
अब त उहाँलाई पक्कै फुर्सद होला, सदनमा आएर ट्याम्पो दुर्घटना, नागरिकको घरमाथि ढुङ्गा वर्षाउने प्रहरी दमन र धराशायी बनेका उद्योगका बारेमा जवाफ दिनुपर्छ ।’ सरकारले अब ‘फेसबुकको रमाइलो’ भन्दा बाहिर निस्किएर जनताको समस्यामा जिम्मेवार बन्नुपर्ने उनको जोड छ ।
















