१ असार, काठमाडौं । अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौताको मस्यौदा तयार भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौता र रणनीतिक महत्त्वको हर्मुज जलडमरू मार्ग पुनः खुला गर्ने घोषणा गरेसँगै एसियाली बजारमा तेलको मूल्यमा उल्लेख्य कमी देखिएको हो । सोमबार बिहानको प्रारम्भिक कारोबारमा ब्रेन्ट कच्चा तेल ३ दशमलव ९५ प्रतिशतले घटेर प्रतिव्यारेल ८३ दशमलव ८८ डलरमा झरेको छ भने डब्लुटीआई कच्चा तेल ४ दशमलव ६२ प्रतिशतले घटेर ८० दशमलव ९६ डलरमा कारोबार भइरहेको छ ।
पछिल्ला केही सातादेखि चलेका कूटनीतिक चर्चा र हालैको औपचारिक घोषणाले लगानीकर्तामा आशा जगाएपछि मे महिनाको मध्यदेखि उकालो लागेको तेलको भाउ ओरालो लाग्न थालेको हो । सम्झौताका प्रमुख मध्यस्थकर्ता कतार र पाकिस्तानले समेत सहमतिलाई पुष्टि गरिसकेका छन् भने इरानका उपविदेशमन्त्री काजेम घरिवाबादीले आउँदो शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर समारोह हुने जानकारी दिएका छन् ।
सार्वजनिक विवरणअनुसार, यस सम्झौतामा लेबनानमा जारी युद्धको पूर्ण अन्त्य, इरानी तेलमाथिका प्रतिबन्धहरूको चरणबद्ध फुकुवा र रोक्का राखिएका २४ अर्ब अमेरिकी डलर बराबरको इरानी सम्पत्ति मुक्त गर्ने प्रावधान समेटिएको छ ।
साथै, इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता जनाएसँगै वार्ताको वातावरण सहज बनेको हो । यद्यपि, सम्झौतामा औपचारिक हस्ताक्षर नभएसम्म र हर्मुज जलडमरू हुँदै हुने तेल ढुवानी पूर्णतः सामान्य नभएसम्म बजारमा देखिएको अनिश्चितताको असर अझै केही समय कायमै रहने विश्लेषण गरिएको छ ।
















