Logo

१ असार, काठमाडौं । भारतले नेपाली चियाको निर्यातमा लगाएको अघोषित रोकका कारण मुलुकका ८३ वटा चिया उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले चिया उद्योगमा देखिएको गम्भीर संकटबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले नेपाली किसान र उद्यमीले उत्पादन गरी निर्यातका लागि पठाइएको ३ लाख किलो चिया भारतीय सीमानामै रोकिएको र थप ७ लाख किलो चिया उद्योगका गोदाममै थन्किएको भयावह अवस्था सदनसमक्ष राखेका छन् ।

निर्यात ठप्प हुँदा उद्योग सञ्चालन गर्न नसकिने स्थिति सिर्जना भएको र यसले हजारौं मजदुरको रोजगारीसमेत गुम्ने खतरा बढेको भन्दै सांसद केरुङले चिन्ता व्यक्त गरे । चिया क्षेत्रको यस असहज परिस्थितिलाई तत्काल साम्य पार्न उनले सरकारलाई कूटनीतिक पहल गर्न आग्रह गरेका छन् ।

विशेषगरी भारतसँग ‘जिटुजी’ (सरकार–सरकार) तहमा वार्ता गरी अवरुद्ध निर्यात खुलाउन र संकटमा परेका उद्योगी–मजदुरलाई राहत प्रदान गर्न उनले जोडदार माग गरेका छन् ।


सम्बन्धित समाचार