
१४ जेठ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले बिहीबार (जेठ १६ गते) काठमाडौंमा कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार भेलामा पार्टीका विभिन्न कमिटीका गतिविधिबारे समीक्षा गरिनुका साथै कमिटी प्रतिनिधिलाई प्रशिक्षण दिइने कार्यक्रम रहेको छ।
मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रूपान्तरणका लागि समाजवादी अभियानलाई सशक्त बनाउन आवश्यक रहेको भन्दै सिद्धान्त, नीति तथा कार्यक्रम मिल्ने राजनीतिक पार्टीहरूसँगको सहकार्यबारे पनि भेलामा छलफल हुने उपप्रमुख अर्यालले जानकारी दिए।
यसैबीच, आगामी १८औँ गणतन्त्र दिवसको अवसरमा पार्टीले देशका विभिन्न भागमा सभा, भेला, गोष्ठी, वृक्षारोपण, रक्तदान, दीपावलीलगायतका विविध कार्यक्रम आयोजना गर्ने जनाएको छ।