
१४ जेठ,काठमाडौं । प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध गरेपछि सभामुखले यो पहल थालेका हुन्।
विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामालाई आफ्नो प्रमुख अडान बनाएका छन्। उनीहरूले राजीनामा नआएसम्म बैठक चल्न नदिने बताइरहेका छन्। यता, सभामुख घिमिरेले भने जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यात्मक परिस्थितिलाई बुझेर अगाडि बढ्न आग्रह गरिरहेका छन्।
सत्तापक्षले भने गृहमन्त्रीले राजीनामा नदिने तर सदनमा उपस्थित भई जवाफ दिने बताउँदै आएको छ। यसले सभामुखसामु सदनको गतिरोध अन्त्य गर्ने र बजेट प्रस्तुत गर्ने बाटो खोल्ने चुनौती खडा गरेको छ।