
१४ जेठ, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरी संसद्को अवरोध हटाउन आग्रह गरेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै संसद् अवरुद्ध पारिरहेका माओवादी केन्द्रसहितका दलहरूसँग संवाद गर्दै ओलीले कम्तीमा बजेट सत्रलाई सहज पार्न अनुरोध गरेका हुन्।
बिहीबार १५ जेठका दिन संघीय संसद्मा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत हुने कार्यक्रम तय भइसकेको छ। त्यसलाई मध्यनजर गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेका थिए। स्रोतका अनुसार, प्रचण्डले बजेट सत्र अवरुद्ध नगर्ने संकेत दिएका छन् तर गृहमन्त्रीको राजीनामा अनिवार्य रहेको अडान दोहोर्याएका छन्।
“बजेट संविधान र जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले त्यसलाई अवरुद्ध गर्न चाहँदैनौं,” स्रोतका अनुसार प्रचण्डले भने, “तर गृहमन्त्रीको सचिवालय भिजिट भिसा प्रकरणमा संलग्न भएकाले उहाँले जिम्मेवारी वहन गर्दै राजीनामा दिनैपर्छ।”
संसद्मा विपक्षी दलहरूको लगातार अवरोधका कारण मंगलबारको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित गरिएको थियो। आजको बैठकसमेत सोही कारण निर्धारित समयमा सुरु हुन सकेको छैन।
प्रधानमन्त्रीसँगको संवादपछि प्रचण्डले पार्टी बैठक बोलाउने र बिहीबार बिहानसम्म औपचारिक निर्णय सुनाउने बताएका छन्। अबको निर्णयले संघीय संसद्को भविष्यको कार्यसूची मात्र होइन, राजनीतिक स्थिरताको दिशातर्फ समेत संकेत गर्ने देखिएको छ।