
१४ जेठ,काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (जेठ १५ गते) दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले निरन्तर सदन अवरुद्ध गरेपछि आजको बैठक पनि अगाडि बढ्न सकेन।
सदनमा अवरोध भएपछि सभामुख देवराज घिमिरेले सुरुमा आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए। तर, गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडानमा विपक्षी दलहरू कायम रहेपछि सभामुखले सूचना टाँस गरेर दिउँसो ३ः३० बजेका लागि पुनः बैठक तय गरेका थिए।
उक्त समयसीमामा पनि दलहरूबीच सहमति जुट्न नसकेपछि आजको बैठक स्थगित गरी भोलि दिउँसो १ बजेका लागि सारिएको हो। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताको आरोप लगाउँदै विपक्षी दलहरूले उनको राजीनामा माग गर्दै आएका छन्, जसका कारण संसदको कामकाज प्रभावित भएको छ।