Logo

१४ जेठ,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा दोषी देखिएकाहरूलाई कडा कारबाही गर्नुपर्ने बताएका छन्। पार्टीको धरान नगरको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै थापाले गृहमन्त्री रमेश लेखकले इमानदारीपूर्वक काम गरिरहेको आफूहरूको विश्वास रहेको बताए।

उनले भने, “विश्वास भन्दामाथि कानून र प्रमाण हुन्छ। अख्तियारले निष्पक्ष छानबिन गर्नुपर्छ भन्ने हाम्रो विश्वास रहन्छ। यो छानबिन गर्दै गर्दा त्यस्तो नहोस्, कथमकदाचित मन्त्रीमाथि नै छानबिन हुने अवस्था आयो भने के हुन्छ? त्यस्तो अवस्थामा मन्त्रीले आफ्नो जिम्मेवारी छाड्नुपर्छ। जिम्मेवारीबाट अलग रहनुपर्छ र त्यो बेलामा गल्ती गरेको छ भने सजाय भोग्नुपर्छ, हाम्रो विश्वास छ त्यस्तो भएको छैन। तर विश्वास भन्दामाथि तथ्य र प्रमाण हुन्छ।“

थापाले अनुसन्धानको दायरामा जोसुकै मन्त्री भए पनि जिम्मेवारीमा बस्न नमिल्ने बताए। उनले भिजिट भिसा प्रकरणलाई अमानवीय र अक्षम्य अपराधको संज्ञा दिए। अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जाने उनको भनाइ छ।


सम्बन्धित समाचार