
१५ जेठ,काठमाडौं । सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण मार्फत समग्र अर्थतन्त्रलाई रूपान्तरण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि उत्पादन वृद्धि गरी खाद्य सम्प्रभुता सुनिश्चित गर्ने सरकारको प्रमुख लक्ष्य रहेको बताउनुभयो।
अर्थमन्त्री पौडेलका अनुसार, कृषिलाई आधुनिक र व्यावसायिक बनाउन सामूहिक सहकार्यका मोडेल तथा निजी फर्महरूलाई प्रोत्साहन गरिनेछ। यसका लागि ३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो।
सरकारले कृषिमा प्रविधिको प्रयोग, आधुनिक प्रणालीको विकास र बजारमैत्री उत्पादन प्रणालीलाई प्राथमिकता दिँदै कृषि क्षेत्रलाई मुलुकको आर्थिक मेरुदण्ड बनाउने लक्ष्य राखेको छ। यो पहलले कृषिमा आत्मनिर्भरता बढाउनुका साथै ग्रामीण अर्थतन्त्रलाई समेत सुदृढ गर्ने विश्वास गरिएको छ।