
१५ जेठ,काठमाडौं । सरकारले नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलहरू पोखरा र भैरहवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि हवाई सेवा कम्पनीहरूलाई विभिन्न छुट तथा प्रोत्साहन सुविधा प्रदान गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यो घोषणा गरेका हुन्।
अर्थमन्त्री पौडेलले काठमाडौंमा केन्द्रित हवाई कम्पनीहरूलाई भैरहवा र पोखरा विमानस्थलमा उडान विस्तारका लागि कर छुट दिने र अन्य प्रोत्साहनका कार्यक्रमहरू ल्याइने जानकारी दिए। यसले यी विमानस्थलहरूको उपयोगिता बढाउनुका साथै हवाई यातायातको विकेन्द्रीकरणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।
यसैगरी, आन्तरिक विमानस्थलहरूको व्यवस्थापन र स्तरोन्नतिका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। यसले देशका विभिन्न भागमा रहेका आन्तरिक विमानस्थलहरूको सेवा प्रवाहमा सुधार ल्याउने विश्वास गरिएको छ।
सरकारको यो कदमले यी दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्ण सञ्चालनमा सहयोग पुग्ने र त्यसबाट पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।