
१५ जेठ,काठमाडौं । सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा अहिलेसम्मकै उच्च बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै यस क्षेत्रका लागि ६ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरिएको घोषणा गर्नुभयो।
यो विनियोजन रकम गत आर्थिक वर्ष २०८१/८२ को भन्दा २ अर्ब ५८ करोड रुपैयाँले बढी हो। अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट छुट्याइएको थियो। यसअघि, आर्थिक वर्ष २०७६÷७७ मा विनियोजित ३ अर्ब ९९ करोड रुपैयाँ सबैभन्दा उच्च बजेट रहेको थियो।
अर्थमन्त्री पौडेलले खेल पूर्वाधारको निर्माण तथा खेलाडीको व्यावसायिकता विकासका लागि लगानी बढाउँदै लगिने उल्लेख गर्दै निजी क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गरिने जनाए।
बजेटमा प्रमुख खेलकुद पूर्वाधार निर्माणका लागि पनि बजेट छुट्याइएको छ। झापाको दमकमा सबै खेल आयोजना गर्न सकिने अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिनेछ। यस्तै, सोलुखुम्बु, मुस्ताङलगायतका हिमाली क्षेत्रमा हाइ अल्टिच्युड स्पोट्र्स स्टेडियम निर्माण गरिनेछ।
क्रिकेट पूर्वाधारमा पनि सरकारले ध्यान दिएको छ। कीर्तिपुरमा रहेको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड बजेट विनियोजन गरिएको छ। त्यस्तै, मुलपानी क्रिकेट रंगशाला, फाप्ला क्रिकेट रंगशाला, सिद्धार्थ क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानको स्तरोन्नतिका लागि कुल ४२ करोड बजेट विनियोजन गरिएको छ। चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिदका लागि सशर्त अनुदानको व्यवस्था गरिएको छ।
आगामी १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्नका लागि ५४ करोड बजेट विनियोजन गरिएको छ। राष्ट्रिय एन्टी डोपिङ एजेन्सी सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था मिलाइएको छ। अन्तर्राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीहरूलाई प्रोत्साहन गरिनेछ भने ती खेलाडीहरूको सन्ततिका लागि अध्ययन छात्रवृत्ति पनि प्रदान गरिनेछ।
खेलाडी र प्रशिक्षकलाई प्रदान गरिँदै आएको प्रोत्साहन भत्तालाई निरन्तरता दिइएको छ। महिला सहभागिता बढाइनेछ भने उत्कृष्ट महिला खेलाडीलाई पुरस्कारको व्यवस्था गरिनेछ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले यस बजेटलाई उत्साहपूर्ण भन्दै छोटो प्रतिक्रियामा ‘राम्रो छ, उत्साह जगाउने खालको छ’ भनेका छन्।