Logo

१५ जेठ,काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन्। उनले यो बजेट गरिब जनताको पीडा बढाउने, बिचौलियालाई फाइदा पु¥याउने र देशलाई झनै बर्बाद गर्ने खालको रहेको टिप्पणी गरेका छन्।

बुधवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साहले भने, “यो बजेटलाई हेर्दा, बिचौलिया हाँस्ने र गरिब जनता रुने खालको छ।“

सरकारको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन क्षमतामाथि प्रश्न उठाउँदै उनले सरकारलाई ‘कुहिएको काठ’ को संज्ञा दिए। “कुहिएको काठले राम्रो फर्निचर बनाउन सक्दैन,“ उनले कटाक्ष गर्दै भने, “हात्ती आयो, हात्ती आयो, फुस्स भनेजस्तो छ यो बजेट।“

साहले बजेटले मुलुकको समृद्धिको बाटो खोल्ने अपेक्षा गरिए पनि, हाल प्रस्तुत गरिएको योजनाले उल्टै आर्थिक संकट गहिराउने दाबी गरे। उनले समावेशी, उत्पादनमुखी र गरिबमुखी बजेट ल्याउन सरकारलाई आग्रह गरे।

सरकारले २०८२÷८३ का लागि १८ खर्ब ६० अर्बको बजेट सार्वजनिक गरेको छ, जसमा राजस्व लक्ष्य, ऋण लिने योजना, र विकास खर्चको प्राथमिकताबारे बहस भइरहेको छ।


सम्बन्धित समाचार