
१५ जेठ,काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि मदिरा, बियर, सुर्ती र चुरोट जस्ता वस्तुहरूको आयातमा लाग्ने भन्सार महसुल र अन्तःशुल्क दरमा वृद्धि गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यो जानकारी दिएका हुन्।
अर्थमन्त्री पौडेलले स्वास्थ्य जोखिम कम गर्न र राजस्व वृद्धि गर्ने उद्देश्यले यी वस्तुहरूको आयातमा लाग्ने भन्सार महसुल दरमा वृद्धि गरिएको बताए। “विद्यमान अन्तःशुल्क दरमा सामान्य वृद्धि गरेको छु। स्वास्थ्य जोखिम करको दायरा विस्तार गरेको छु,“ उहाँले बजेट वक्तव्यमा भन्नुभयो।
यसका साथै, विद्युतीय बिजक प्रणालीमा करदाताको आबद्धता बढाउँदै केन्द्रीय बिजक अनुगमन प्रणालीको दायरा फराकिलो बनाइने योजना पनि सरकारले अघि सारेको छ। यसले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
सरकारको यो कदमले स्वास्थ्यमा नकारात्मक असर पार्ने वस्तुहरूको उपभोग निरुत्साहित गर्नका साथै राष्ट्रिय राजस्व संकलनमा वृद्धि ल्याउने लक्ष्य राखेको छ।