
१६ जेठ,वीरगञ्ज । बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१, अमलेखगञ्जबाट २ जना भारतीय नागरिकलाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल र ओनेरेक्स सहित प्रहरीले नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले बिहान ११ः४० बजे वीरगञ्जबाट हेटौडातर्फ जाँदै गरेको बिर.०१ बियू.३४८५ नम्बरको भारतीय कारलाई चेकजाँच गर्दा उक्त लागुऔषध बरामद भएको हो।
प्रहरीले कारको पछाडिको सिटमुनि र ढोकाहरूमा फल्स बटम बनाई लुकाई छिपाई राखिएको २१६० पत्ता (२१,६०० ट्याबलेट) ट्रामाडोल हाइड्रोक्लोराईड क्याप्सुल बरामद गरेको छ। यसैगरी, कारको बायाँ साईडको अगाडि र पछाडिको ढोकाको पल्लाभित्र राखिएको ७६ बोतल ओनेरेक्स–१०० एमएल पनि बरामद भएको छ।
पक्राउ पर्नेहरूमा कार चालक भारत, जिल्ला भैसाली, ग्राम हुसेनाराके वडा नं. १२ बस्ने २७ वर्षीय धिरज कुमार सिंह र सोही गाडीमा सवार भारत, जिल्ला मोतिहारी, ग्राम कटगेनवा वडा नं. २ बस्ने १८ वर्षीय चन्दन कुमार पटेल रहेका छन्।
बरामद गरिएको लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कानूनी कारबाही अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ।