Logo

३ साउन, चितवन । वर्षा र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै गएरातिदेखि बन्द गरिएका मुग्लिन–नारायणगढ र मुग्लिन–काठमाडौं सडकखण्ड आज बिहानैदेखि पूर्ण रूपमा सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले सम्भावित जोखिम टार्न बिहीबार राति १० बजेदेखि सवारी सञ्चालनमा रोक लगाएकोमा आज बिहान ६ बजेदेखि दुवै सडकखण्ड खुला गरिएको हो ।

रातिको समयमा मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोला नजिकै खसेको सानो पहिरो समेत तत्कालै पन्छाएर यातायात सुचारु गरिएको प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार राति खासै ठुलो वर्षा नभएको र बिहान सावधानी अपनाएर सवारी चलाउन सकिने अवस्था देखिएपछि सडक खुला गरिएको हो । राजमार्ग बन्द गरिएपछि भरतपुरतर्फबाट जाने सवारी साधनहरूलाई भरतपुरको केन्द्रीय बसपार्क, आँपटारी, रामनगर र जुगेडी लगायतका क्षेत्रमा रातभर रोकिएको थियो ।

त्यसैगरी, काठमाडौंबाट पोखरा र नारायणगढतर्फ आउने सवारी साधनहरूलाई मुग्लिन र कुरिनटारमा तथा पोखराबाट आउने सवारीलाई तनहुँतर्फका विभिन्न स्थानमा रोक्न लगाइएको थियो । पूर्वी नवलपरासीको गैंडाकोट, भेँडाबारी र थुम्सी लगायतका क्षेत्रमा रोकिएका सवारी साधनहरूलाई पनि बिहानैदेखि अगाडि बढाउने काम भइरहेको ट्राफिक प्रमुख थापाले जानकारी दिए । हाल सडकमा कतै पनि अवरोध नरहेको र रातभर जाममा परेका सवारी साधनहरूलाई प्राथमिकतामा राखेर पालैपालो गन्तव्यतर्फ पठाउने कार्य भइरहेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख एवं प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रतीक सिंहले पनि दुवै राजमार्गमा यात्राका लागि हाल कुनै अवरोध नरहेको पुष्टि गरेका छन्। जवाङ खोलाको पहिरो हटाइसकिएकाले सुरक्षित रूपमा यात्रा गर्न सकिने उनको भनाइ छ।

यसैबिच, ट्राफिक प्रहरीले सडक खुला भएसँगै सवारी साधनहरूको चाप अत्यधिक बढेकाले जाम र दुर्घटनाको जोखिम कम गर्न सबै चालकहरूलाई लेन अनुशासन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । ट्राफिक प्रमुख थापाले ओभरटेक नगरी जिम्मेवार चालक बनेर सुरक्षित सडक सञ्चालनमा सहयोग गरिदिन सम्पूर्ण यात्रु तथा चालकहरूलाई विशेष अपिल गरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै