३ साउन, काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले मुलुकका विभिन्न भागमा सडक सञ्जाल प्रभावित भएका छन् ।
सडक विभाग र प्रहरीका अनुसार हाल देशका १० वटा प्रमुख राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन् भने ५ वटा सडकमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालन भइरहेका छन् ।
प्राप्त जानकारी अनुसार कान्तिलोकपथ, मेची राजमार्ग, बीपी राजमार्ग, अरनिको राजमार्ग र कालीगण्डकी करिडोर सडक पहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन् । यसका साथै सालझण्डी–ढोरपाटन सडक र रिडी सडक खण्डमा पनि बाढीपहिरोले गर्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । केही स्थानमा सडक अवरुद्ध भएपछि स्थानीय प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकहरूलाई आग्रह गरेको छ ।
एकतर्फी सञ्चालनमा रहेका सडक
पूर्ण रूपमा अवरुद्ध सडकहरूका अतिरिक्त ५ वटा सडक खण्डमा भने सीमित मात्रामा सवारी चलिरहेका छन् । जसमा पासाङ ल्यामु सडक खण्ड लगायतका सडकहरू छन् । पहिरो पन्छाउने कार्य जारी रहे पनि जोखिम कायमै रहेकाले सम्बन्धित सडकमा एकतर्फी मात्र गाडी सञ्चालन गर्न दिइएको प्रहरीले जनाएको छ ।
निरन्तरको वर्षाका कारण अधिकांश सडक खण्डमा थप पहिरो जाने जोखिम रहेकाले यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन ट्राफिक प्रहरीले चालक तथा यात्रुहरूलाई अनुरोध गरेको छ ।





















