३ असार, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी नेतृत्वलाई ‘अपवित्र साँठगाँठ’ नगर्न चेतावनी दिएका छन् ।
प्रदेश सभामा नयाँ सत्ता समीकरणको चर्चा चलिरहेका बेला खनालले आइतबार विज्ञप्ति जारी गर्दै केही नेताहरूको कुर्सी मोहका लागि गरिने नीतिहीन तालमेलले पार्टीलाई थप क्षति पुर्याउने भन्दै सचेत गराएका हुन् ।
विज्ञप्तिमार्फत नेता खनालले विगतमा पनि नेकपाले दक्षिणपन्थी शक्तिहरूसँग साँठगाँठ गरेर गल्ती गरेको र अहिले फेरि त्यही दोहोरिने खतरा बढेको औँल्याएका छन् । ‘केही नेताहरूको कुर्सी मोह र आत्मतृप्तिका लागि गरिने यस्ता साँठगाँठले पार्टीको प्रतिष्ठामा झन् आँच पुर्याउँछ,’ उनले भनेका छन् । उनले हालको अवस्था साँठगाँठ गर्ने नभई सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्ने बेला भएकोमा जोड दिएका छन् ।
‘निर्णयपूर्व केन्द्रीय समितिको बैठक बोलाइयोस्’
नयाँ राजनीतिक समीकरणबारे सोच्नुअघि पार्टीको औपचारिक प्रणालीमा छलफल हुनुपर्ने उनको माग छ । खनालले भनेका छन्,‘कुनै पनि नयाँ समीकरणबारे सोच्नुभन्दा अगाडि केन्द्रीय संयोजन समितिको बैठक बोलाइयोस् । क्रान्तिकारी उद्देश्य र वर्ग दृष्टिकोणलाई सर्वोपरी राखेर मात्र प्रदेश सरकार बनाउने सम्बन्धमा नीतिगत निर्णय गरियोस् ।’
बढ्दो अस्तव्यस्तताप्रति चिन्ता
खनालले देशको राष्ट्रियता, जनजीविका र छिमेकी मुलुकहरूसँगको सम्बन्ध खलबलिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बढ्दो विदेशी हस्तक्षेप र घरेलु अस्तव्यस्तताका विरुद्ध तमाम वामपन्थी तथा प्रगतिशील शक्तिहरू एकताबद्ध हुनुपर्ने उनको भनाइ छ ।
वामपन्थीहरूले दम्भ र पूर्वाग्रह त्यागेर एकताको पहल गर्नुपर्नेमा जोड दिँदै उनले पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदल’ बाट बचाउन नेतृत्वलाई आग्रह गरेका छन् ।




















