३ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु श्रीलंकाको पाँच दिने राजनीतिक भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ ।
श्रीलंकाको कोलम्बोमा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुन १५ जुलाईमा त्यसतर्फ प्रस्थान गर्नुभएका प्रचण्डले आफ्नो भ्रमणका क्रममा महत्त्वपूर्ण राजनीतिक भेटवार्ताहरू गर्नुभएको छ । सम्मेलनमा उहाँले एसियाली क्षेत्रमा शान्ति, स्थिरता, आर्थिक सहयोग र वामपन्थी शक्तिहरूबीचको एकताको आवश्यकतामाथि जोड दिनुभएको थियो ।
आफ्नो भ्रमणका क्रममा प्रचण्डले श्रीलंकाको कम्युनिस्ट पार्टीका महासचिव तथा पोलिटब्युरो सदस्यहरूसँग दुईपक्षीय छलफल गर्नुका साथै सत्तारुढ जनता विमुक्ति पेरामुनाका महासचिव तिल्भिन सिल्भा र पार्टीको पोलिटब्युरो टोलीसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो ।
यसका अतिरिक्त उहाँले सम्मेलनमा सहभागी विभिन्न देशका राजनीतिक दलका नेता, सामाजिक अभियन्ता तथा बौद्धिक व्यक्तित्वहरूसँग पनि क्षेत्रीय राजनीतिक अवस्था र साझा सरोकारका विषयमा गहन विचारविमर्श गर्नुभएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उहाँलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए। प्रचण्डको यो भ्रमणलाई क्षेत्रीय राजनीतिमा वामपन्थी एकताको सन्देशका रूपमा हेरिएको छ ।




















