Logo

३ साउन, काठमाडौँ । प्रतिनिधिसभामा दर्ता भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८१’ माथि १७ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

मुलुकको अमूल्य सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले ल्याइएको उक्त विधेयकका प्रस्तावनादेखि विभिन्न दफामा परिमार्जन गर्नुपर्ने माग राख्दै सांसदहरूले संशोधन प्रस्ताव पेस गरेका हुन् । हाल यो विधेयक प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा दफावार छलफलको प्रक्रियामा रहेको छ ।

संशोधन प्रस्ताव राख्ने सांसदहरूमा परशुराम तामाङ, गणेशबहादुर विश्वकर्मा, प्रमिलाकुमारी गच्छदार, गणेश पराजुली, कमल सुबेदी, सुलभ खरेललगायत रहेका छन् । सांसदहरूले विधेयकको प्रस्तावनामा ‘आदिवासी तथा परम्परागत ज्ञान, सीप र अभ्यास’, ‘युनेस्कोको विश्वव्यापी मान्यता’ तथा ‘विदेशमा रहेका नेपाली समुदायको सम्पदा’ समेट्नुपर्ने जस्ता महत्त्वपूर्ण सुझावहरू दिएका छन् । नेकपाका सांसद गणेशबहादुर विश्वकर्माले त ‘अभौतिक’ शब्दको सट्टा ‘मौलिक’ शब्द राख्न उपयुक्त हुने भन्दै संशोधन प्रस्ताव राखेका छन् ।

गत असार २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दफावार छलफलका लागि उक्त विधेयक समितिमा पठाउनुभएको थियो । अब संसदीय समितिले सांसदहरूले दर्ता गराएका संशोधन प्रस्ताव र विधेयकको मूल मस्यौदालाई एकै ठाउँमा राखी घनीभूत छलफल गर्नेछ ।

समितिबाट पारित भएपछि विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाको प्रक्रिया हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनको रूपमा कार्यान्वयनमा आउनेछ ।


सम्बन्धित समाचार