३ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले देशभरका बाल सुधार गृहहरूको अवस्थालाई थप व्यवस्थित र बालमैत्री बनाउन सरकारलाई चारबुँदे निर्देशन दिएको छ ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले ‘बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्था’ सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै सुधारका लागि तत्काल कार्य अघि बढाउन मन्त्रालयहरूलाई निर्देशन दिएको हो ।
समितिले विशेष गरी रुपन्देहीस्थित बाल सुधार गृहको भौतिक अवस्था दयनीय र साँघुरो रहेको ठहर गर्दै यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनेको छ ।
यसका लागि गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच आवश्यक समन्वय गरी शीघ्र कार्य सम्पादन गर्न निर्देशन दिइएको छ । देशभरका सुधार गृहमा बढ्दो चापलाई मध्यनजर गर्दै भौतिक पूर्वाधारको क्षमता अभिवृद्धि र वैकल्पिक प्रबन्ध मिलाउन पनि समितिले सरोकारवाला निकायलाई सचेत गराएको छ ।
त्यसैगरी, सुधार गृहमा आश्रित बालबालिकाहरूले हाल कैदीबन्दी सरह पाउँदै आएको दैनिक ‘सिधा’ र भत्ता उनीहरूको उमेर तथा शारीरिक आवश्यकताका लागि अत्यन्त न्यून रहेको निष्कर्ष निकाल्दै यसमा तत्काल सुधार गर्न समितिले सरकारलाई आग्रह गरेको छ ।
बालबालिकाको स्वास्थ्य, पोषण र खाद्य व्यवस्थापनमा संवेदनशील हुन निर्देशन दिँदै समितिले यसका लागि आवश्यक निर्णय गरी कार्यान्वयनमा लैजान महिला र गृह मन्त्रालयलाई ताकेता गरेको छ ।
समितिकी सभापति समीक्षा बास्कोटाले प्राप्त रचनात्मक सुझावहरूलाई समेटेर प्रतिवेदनलाई थप नतिजामुखी बनाइने र नियमित रूपमा कार्यान्वयनको अवस्था अनुगमन गरिने जानकारी दिइन् ।




















