Logo

३ असार, काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता स्वार्थका लागि सिद्धान्तसँग सम्झौता गर्ने विगतको प्रवृत्तिको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार ललितपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री थापाले सत्तालाई नै सर्वोपरि मान्ने सोचले गर्दा पछिल्लो समय मुलुकको राजनीति अस्थिर र दिशाहीन बनेको बताउँदै अब कांग्रेस सच्चिने बेला आएको बताए ।

प्रदेश सभामा तीन दलीय सरकार अस्वीकार्य

महामन्त्री थापाले प्रदेश सभालाई प्रतिपक्षविहीन बनाउने गरी हुने कुनै पनि अभ्यासलाई कांग्रेसले स्वीकार नगर्ने स्पष्ट पारेका छन् । ‘तीन दल मिलेर सरकार बनाउँदा प्रदेश सभा प्रतिपक्षविहीन हुन्छ, यो जनताको जनादेशविपरीत हो,’ उनले भने । चुनावअघि एक दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्कोसँग सरकार बनाउने अस्थिर राजनीतिक अभ्यासले सरकार र प्रतिपक्षको भूमिकालाई नै अन्योलपूर्ण बनाएको भन्दै उनले अब जनादेशको सम्मान गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा अडिग रहने बताए ।

कांग्रेसमा पुस्तान्तरण र रूपान्तरण

कार्यक्रममा बोल्दै उनले पार्टीभित्र नयाँ पुस्ताको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको कुरामा जोड दिए । विगतमा कांग्रेसले सबै जातजाति र भाषाभाषीलाई जोड्ने पुलको काम गरेझैँ अब सबै पुस्तालाई जोडेर पार्टीलाई बलियो बनाउने सामर्थ्य राख्नुपर्ने उनको भनाइ थियो । उनले सत्ता र शक्तिभन्दा माथि उठेर वैचारिक स्पष्टताका साथ अघि बढ्नु नै आजको आवश्यकता भएकोमा जोड दिए ।


सम्बन्धित समाचार
भर्खरै