३ साउन, काठमाडौँ । अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा आइतबार हुने फिफा विश्वकप २०२६ को फाइनल खेल ऐतिहासिक रूपमा महँगो बनेको छ । लियोनेल मेसीको अर्जेन्टिना र लामिन यामलको स्पेनबीच हुने यो भिडन्त हेर्न चाहने समर्थकका लागि टिकटको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।
अन्तिम समयमा आकासियो मूल्य
खेल सुरु हुन २४ घण्टाभन्दा कम समय बाँकी रहँदा पुनर्बिक्री बजारमा फाइनलको टिकटको मूल्य २३ लाख अमेरिकी डलर अर्थात् करिब ३५ करोड ५३ लाख नेपाली रुपैयाँसम्म पुगेको छ ।
फिफाको आधिकारिक प्लेटफर्ममा शुक्रबारसम्म केही टिकटहरू ४९ लाख रुपैयाँ ९३२ हजार डलर० सम्ममा उपलब्ध भए पनि शनिबारसम्म सबै टिकट बिक्री भइसकेका थिए । हाल पुनर्बिक्री प्लेटफर्महरूमा १० हजार डलरदेखि २३ लाख डलरसम्ममा टिकटहरू राखिएको छ ।
‘डाइनामिक प्राइसिङ’ र मागको चाप
फिफाले यसपटक पहिलोपटक लागू गरेको ‘डाइनामिक प्राइसिङ’ प्रणालीले टिकटको मूल्य आकासिनुमा मुख्य भूमिका खेलेको छ । मागअनुसार मूल्य परिवर्तन हुने यस प्रणालीका कारण समूह चरणका टिकटहरू पनि सन् २०२२ को तुलनामा दोब्बर महँगो थिए ।
विशेषज्ञहरूका अनुसार फिफाले ‘स्लो टिकटिङ’ रणनीति अपनाउँदै बजारमा टिकटको कृत्रिम अभाव सिर्जना गर्दा समर्थकहरूमा मनोवैज्ञानिक दबाब बढेको र यसले मूल्य थप वृद्धि गराएको हो । महँगो मूल्यका बाबजुद ९९.७ प्रतिशत सिटहरू भरिनुले विश्वकपको लोकप्रियता र समर्थकको उच्च चाहनालाई पुष्टि गरेको छ ।
‘धनीका लागि मात्र विश्वकप’ भन्दै आलोचना
विश्वकपको टिकट मूल्य र व्यवस्थापनलाई लिएर तीव्र आलोचना पनि सुरु भएको छ । मानवअधिकारवादी संस्थाहरू र फुटबल सपोर्टर्स युरोपले यो विश्वकप सामान्य समर्थकको पहुँचभन्दा बाहिर गएको टिप्पणी गरेका छन् ।
भिसा प्रक्रियामा देखिएको झन्झट र अत्यधिक टिकट मूल्यका कारण आर्थिक रूपमा सक्षम व्यक्तिहरूले मात्र खेल हेर्न पाउने अवस्था सिर्जना भएको आरोप लगाइएको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यसलाई ‘समावेशी विश्वकप’ बनाउने दाबी गरे पनि वास्तविकतामा भने यो केवल धनी वर्गका लागि सीमित बनेको सरोकारवालाहरूको गुनासो छ ।




















